कैलाली – लुटपाट र चेक अनादर मुद्दामा फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चेक अनादर मुद्दामा ३ महिना कैद सजाय र २० हजार रुपैयाँ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१८ फुलबारी बस्ने ५३ वर्षीय कृष्णप्रसाद शर्मा, कुटपिट र लुटपाट मुद्दामा २ महिना कैद सजाय र २ हजार ६ सय जरिवाना तोकिएका कैलारी गाउँपालिका–२ का ४४ वर्षीय गौरीशंकर चौधरी, र सोही मुद्दामा १ महिना कैद सजाय र १ हजार ३ सय जरिवाना तोकिएका २६ वर्षीय शंकर चौधरी पक्राउ परेका हुन्।
जिल्ला अदालत कैलालीले कैद तथा जरिवाना ठहर गरेपछि फरार रहेका ती तीनै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको छ।