विद्यार्थी नेता पुष्पराज सुवेदीको राजीनामा, सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली - नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु (अखिल) का जिल्ला उपाध्यक्ष तथा एमाले गोदावरी नगरपालिका–४ का वडा अध्यक्ष पुष्पराज सुवेदीले आफ्ना सम्पूर्ण पार्टी जिम्मेवारीबाट राजीनामा दिएका छन्।

 

विगत दशकभन्दा लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका सुवेदीले समाज परिवर्तन गर्ने उद्देश्यले पार्टीमा आवद्ध भई निरन्तर योगदान गरेको स्मरण गर्दै अब वर्तमान संरचना र शैलीले युवापुस्ताको चाहना पुरा गर्न नसक्ने ठहर गर्दै जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन्।

 

सुवेदीले आफ्नो राजीनामा घोषणामा भनेका छन्, “भ्रष्टाचार, अन्याय र अत्याचारविरुद्ध सदैव निस्वार्थ भावले लडिरहेँ, तर वर्तमान अभ्यासले पारदर्शी, जवाफदेही र परिवर्तनमुखी व्यवस्थाको विकल्प निर्माण गर्न असफल भएको देखिएको छ। अब नयाँ पुस्ता मिलेर विकल्प निर्माण गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको छु।”

 

उनले आजै मितिबाट अनेरास्ववियु कैलाली जिल्ला उपाध्यक्ष, एमाले वडा नं. ४ अध्यक्ष मात्र नभई पार्टी सदस्यतासमेत परित्याग गरेको स्पष्ट पारेका छन्।

 

सुवेदीले अबको यात्रामा युवाहरू एकजुट भई नयाँ मार्ग निर्माण गर्नुपर्नेमा आफू पूर्ण रूपमा समर्पित रहने उल्लेख गर्दै सहकर्मी, साथी, अग्रज र शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@manilektimes.com मा पठाउनु होला । धन्यवाद ।