स्थानीय तहका नेताको घुसपैठसँगै गोदावरीमा जेन–जी आन्दोलन हिंसात्मक, पूर्व सांसददेखि व्यवसायीसम्मका घरमा आगजनी


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अत्तरिया - कैलालीको गोदावरी नगरपालिका जेन–जी आन्दोलनको क्रममा शनिबार साँझ देखिएको हिंसात्मक गतिविधि थप उग्र बनेको छ। आन्दोलनकारीहरूले नगरपालिकामा मात्र नभई निजी घर र सम्पत्तिमा समेत आगजनी र तोडफोड गरेका छन्।

 

आन्दोलनकारीको निशानामा पूर्व सांसद तथा नेकपा एमाले सचिव लेखराज भट्ट, गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट, पूर्व मेयर हरि सिंह साउँद, कांग्रेस नेता तथा क्षेत्रीय सभापति वसन्त रोकाया, वडा सदस्य देबराज भट्ट र व्यवसायी कल्याण सिंह बोहरा परे। उनीहरूका घरमा आगजनी र तोडफोड भएको स्थानीयले बताएका छन्।

 

पूर्व सांसद लेखराज भट्टको नयाँ र पुरानो दुवै घर, ट्याक्टरसहितका संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। मेयर बिरेन्द्र भट्टको घरमा समेत प्रदर्शनकारीले आगो लगाएका छन्। मेयर निकट मानिने वडा नं. २ का सदस्य देबराज भट्ट र कांग्रेस सभापति वसन्त रोकायाको घरमा पनि क्षति भएको छ। व्यवसायी कल्याण सिंह बोहराको घरसमेत सुरक्षित रहेन।

 

आन्दोलनकारीहरूले जनप्रतिनिधि र उनीहरूका निकट व्यक्तिहरूलाई लक्षित गर्दै आक्रमण गरेका थिए। यसबारे प्रतिक्रिया दिँदै कल्याण सिंह बोहराले भने, “म कुनै लाभको पदमा थिएन, म जनप्रतिनिधि भए पनि ठिकै हो, मेरो खुन–पसिनाले बनाएको घर हो, किन यस्तो गरे? जिन–जी आन्दोलनको पछाडि को थिए?”

 

निजी सम्पत्तिमा आगजनी भएपछि पीडित परिवारहरू आक्रोशित बनेका छन्। पूर्व मेयर साउँदका छोरा दिपेन्द्र साउँद र एमाले सचिव भट्टका भाइ गोकर्ण भट्टले सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया व्यक्त गर्दै दोषी पहिचान गर्न माग गरेका छन्।

 

स्थानीय राजनीतिक नेताहरूले आन्दोलनमा जेन–जी पुस्ताको ठूलो सहभागिता देखिएको स्वीकार गरेका छन् तर केही “स्थानीय चिनिएका अनुहारहरू”को घुसपैठ स्पष्ट देखिएको बताएका छन्। उनीहरूले यस्तो गतिविधिले आन्दोलनको उद्देश्यलाई नै बदनाम बनाएको प्रतिक्रिया दिएका छन्।

 

पीडित परिवार र स्थानीय बासिन्दाले तत्काल दोषी पहिचान गरी कारबाही गर्न माग गरेका छन्। घटनापछि गोदावरी क्षेत्रमा थप सुरक्षा व्यवस्था कडाइ गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@manilektimes.com मा पठाउनु होला । धन्यवाद ।