संकल्प अभियानको मेची–महाकाली जागरण यात्रा चितवनमा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कंचनपुरको गड्डाचौकीबाट सुरु भएको समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान अन्तर्गतको मेची–महाकाली जागरण यात्रा मंगलबार चितवन आइपुगेको छ।

देशभित्र बढ्दो गरिबी, बेरोजगारी, भ्रष्टाचार र सामाजिक अन्यायविरुद्ध जनचेतना जगाउने उद्देश्यसहित यात्रा प्रारम्भ गरिएको अभियानका संयोजक प्रेमराज भट्टले जानकारी दिए। उनका अनुसार यात्राले देशका प्रमुख शहरमा पुगेर जागरण कार्यक्रम गर्नेछ।

अभियानको क्रममा विभिन्न शहरमा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै युवामा आत्मनिर्भरता र उत्पादनमुखी अर्थतन्त्रप्रति चेतना फैलाउने योजना छ। यसैअन्तर्गत धरानमा नगर प्रमुख हर्क साम्पाङसँग भेट गर्ने र श्रमदान कार्यक्रममा सहभागी हुने तयारीसमेत गरिएको बताइएको छ।

संकल्प अभियानले विखण्डित वैकल्पिक शक्तिलाई एउटै मञ्चमा ल्याउने, नयाँ पुस्तालाई नेतृत्वमा अघि सार्ने र आम नागरिकलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने लक्ष्य लिएको जनाएको छ।

यसैबीच भोलि बिहीबार बिहान चितवनको नारायणगढ पुलचोकमा अभियानका अगुवा गणेश शाहाको उपस्थितिमा चितवनका आम नागरिक तथा पत्रकारहरूसँग भेटघाट गर्ने र अभियानबारे जानकारी दिने कार्यक्रम तय गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@manilektimes.com मा पठाउनु होला । धन्यवाद ।