कैलाली
कैलालीको चौकीडाँडा–फल्टुडे सडक वर्षौंदेखि अधूरो छोडिएका कारण अब स्थानीय वडाले सडकमै कार्यालय सञ्चालन गर्ने भएका छन्। गोदावरी नगरपालिका–३, १०, ११ र १२ का वडाध्यक्षहरूले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि सडकमै टेबुल–कुर्सीसहित वडा कार्यालय सञ्चालन गर्ने घोषणा गरेका हुन्।
६ वर्षअघि सम्झौता भएको सडक निर्माण कार्य दुई ठेकेदार कम्पनी — थेगिङ निर्माण सेवा र तेडी निर्माण सेवाको लापरबाहीका कारण अलपत्र परेको आरोप उनीहरूले लगाएका छन्। सम्झौताअनुसारको काम नगर्दा सडक खाल्डाखुल्डीले भरिएको र स्थानीयलाई आवतजावतमा गम्भीर समस्या भएको भन्दै वडाध्यक्षहरूले सडकमै बसेर सेवा दिन थाले ठेकेदारमाथि दबाब पर्ने विश्वास लिएका छन्।
गोदावरी–१२ का वडाध्यक्ष भीम बहादुर खड्का भन्छन्,
“पटक–पटक आग्रह गर्दा पनि ठेकेदारले काम अघि बढाएनन्। जिल्ला प्रशासनदेखि मुख्यमन्त्रीसम्म ध्यानाकर्षण गरिसक्यौं। तर ठेकेदार बीचमै आएजस्तो गरेर भाग्ने क्रम रोकिएको छैन। त्यसैले अब सडकमै वडा कार्यालय सञ्चालन गरेर दबाब दिन बाध्य भयौं।”
वडाध्यक्ष खड्काका अनुसार सडकमा कार्यालय सञ्चालनको आन्दोलन त्यतिमै सीमित हुने छैन। आवश्यकता परे पूर्वाधार विकास कार्यालय घेर्ने, सडक निर्माणको प्रतिबद्धता गराएसम्म निरन्तर दबाब दिने र अन्य आन्दोलनका कार्यक्रम पनि अघि सारिने उनले बताए।
त्यसैगरी वडा नं. ३ का वडाध्यक्ष तेजराज अवस्थीले भने,
“हामीले धाएर–धाएर धेरै ठाउँमा गुहार माग्यौं, तर पार लागेन। अब सडकमा उत्रिनुपरेको छ। सम्झौता गरेर काम नगर्ने ठेकेदारलाई म्याद थप्नुको साटो कारबाही गर्नुपर्छ। स्थानीयलाई असुविधा भए पनि यो आन्दोलनमा सहयोग गर्न आग्रह गर्दछौं।”
स्थानीयको पीडा
सडक अधुरै भएकाले स्थानीयलाई हिँडडुलदेखि रोगी–विरामी ढुवानीसम्म अप्ठ्यारो परेको छ। दैनिक आवतजावत मात्र होइन, रोजगारी र बजार व्यवसाय पनि अवरुद्ध भएको उनीहरूको गुनासो छ।
अबको आन्दोलन
वडाध्यक्षहरूको भनाइअनुसार ठेकेदारले सडक निर्माण तुरुन्तै अघि बढाएन भने आन्दोलन थप सशक्त बनाइनेछ। उनीहरूको चेतावनी छ — “सडकमा सेवा सुरु गरेर मात्रै होइन, सडक पूरा नभएसम्म दबाबको कार्यक्रम जारी रहनेछ।”