कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० निवासी ललित जोशीको प्रहरी सवार मोटरसाइकलको ठक्करबाट मृत्यु भएको घटनापछि स्थानीय आक्रोशित बनेका छन्। पीडितका आफन्त र स्थानीयवासीले क्षतिपूर्तिको माग राख्दै आइतवार बिहानदेखि झलारी क्षेत्रको महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन्।
जोशीलाई ठक्कर दिने सवारी बागमती प्रदेश ८६ प ८७८७ नम्बरको मोटरसाइकल रहेको र त्यसमा सवार प्रहरी जवानहरू सिद्धराज जोशी तथा अमित भट्ट धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहेको पीडित पक्षको भनाइ छ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ललितलाई उपचारका लागि प्रयास गर्दा गर्दै मृत्यु भएको थियो।
राजमार्ग अवरुद्ध गर्दै आक्रोश पोखिरहेका आफन्त र स्थानीयले दोषी प्रहरीमाथि कारबाही र उचित क्षतिपूर्ति नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। घटनापछि सुरक्षालाई लिएर प्रहरीको थप टोली घटनास्थलमा खटिएको छ भने, कञ्चनपुर प्रहरीले पीडित पक्षसँग छलफल जारी रहेको जनाएको छ।