नेप्सेमा २९ अंकको वृद्धि, ११ अर्बभन्दा बढीको कारोबार


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ  २९ असार

 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पुनः वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको सकारात्मक प्रभाव बजारमा देखिएको हो।

 

नेप्से परिसूचक आज २९ अंकले वृद्धि भई २,७६०.८० विन्दुमा पुगेको छ। कारोबारको हिसाबले हेर्दा आज ३११ वटा कम्पनीका ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँ रहेको नेप्सेले जनाएको छ।

 

आजको बजारमा एनआइसी एशिया बैंक र खानीखोला हाइड्रोपावर कम्पनीका सेयर मूल्य समान ९.९९ प्रतिशतले वृद्धि भई सबैभन्दा बढी उकालो लागेका हुन्। त्यसैगरी जीवन विकास लघुवित्तको सेयर मूल्य पनि ९.६१ प्रतिशतले बढेको छ।

 

यता, हिमालयन हाइड्रोको सेयर मूल्य ९.९३ प्रतिशतले घट्दै आजको सबैभन्दा धेरै गिरावट आएको कम्पनी बनेको छ भने राप्ती हाइड्रोको सेयर मूल्य ७.३४ प्रतिशतले घटेको छ।

 

सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको ३७ करोड १४ लाख रुपैयाँ बराबरको भएको छ भने दोस्रो ठूलो कारोबार बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख रुपैयाँ बराबरको भएको छ।

 

विश्लेषकहरूका अनुसार मौद्रिक नीतिमा लगानीकर्तालाई आशावादी बनाउने बुँदाहरू समावेश भएकाले बजारमा सुधार देखिएको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@manilektimes.com मा पठाउनु होला । धन्यवाद ।