कैलाली, गौरीगंगा नगरपालिका–६ बनबेहडाका २८ वर्षीय टेकबहादुर रोकाया चार दिनअघि घरबाट बाँसको तामा टिपेर ल्याएर धेरै पैसा कमाउने उद्देश्यले जंगलतर्फ निस्किएका थिए। मानसिक अवस्था केही कमजोर भएपनि आर्थिक अभावका कारण बाध्य भएर उनले जंगलको बाटो समाएका थिए।
तर, चार दिनपछि उनी मृत अवस्थामा फेला परे। बुवा र दाइको पहिले नै मृत्यु भइसकेको परिवारमा उनी आमासहित श्रीमती र तीन वर्षीया छोरीका अभिभावक थिए। उनको मृत्युसँगै छोरीले आफ्नो बुबा, आमाले एकमात्र छोरो र श्रीमतीले विवाह भएको चार वर्षमै जीवनसाथी गुमाउनुपर्यो। यस घटनाले गाउँभरि शोक छाउने मात्र होइन, परिवारलाई आर्थिक रूपमा झनै संकटमा धकेलेको छ।
यस्तो पीडादायी अवस्थामा गौरीगंगा नगरपालिका–६ मा अवस्थित श्री जुपिटर एकेडेमी नेपालले मृतककी छोरी आनन्दी रोकायालाई कक्षा नर्सरीदेखि कक्षा १० सम्मको पढाइ पूर्णरूपमा निःशुल्क गराउने घोषणा गरेको छ। विद्यालयको यस अमूल्य सहयोगप्रति मृतकको परिवारले हार्दिक आभार व्यक्त गरेको छ।