झापा जिल्लाको कन्काई नगरपालिका–१, दुर्गापुरस्थित एक गुरुकुलमा वैदिक पद्धतिअनुसार नित्यकर्म, वेद–पुराण, धर्मशास्त्र, निर्णय सिन्धु, धर्मसिन्धु, ज्योतिष तथा सम्पूर्ण कर्मकाण्डसम्बन्धी चार घण्टे कक्षा सुरु गरिएको छ। असार २ गतेदेखि प्रत्येक बिहान ५ः३० बजेदेखि १०ः३० बजेसम्म सञ्चालन हुने यस कक्षाको नेतृत्व संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त पञ्चाङ्गकारले गरेका छन्।
नेपालका दुर्गम–दुर्गम क्षेत्रसम्म पुगेर समावेशी दृष्टिकोणसहित दलित तथा अन्य समुदायका लागि निःशुल्क वैदिक ज्ञान प्रदान गर्दै आएका पण्डित पन्तको यो अभियानमा हाल २५ जना सहभागी छन्। सहभागीहरूमा कथा वाचक, कर्मकाण्ड विशेषज्ञ, ज्योतिषी लगायतका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरू समावेश छन्।
ज्योतिषाचार्य किरण लाम्गादे शास्त्री तथा श्रीमद्भागवत कथा वाचक अध्यक्ष श्री विश्वकर्मा वैदिक कर्मकाण्ड संघद्वारा सञ्चालित यस कार्यक्रमले जातीय भेदभाव, छुवाछूत र सामाजिक विकृतिहरू विरुद्ध सशक्त सन्देश दिइरहेको छ। “परिवर्तनको यात्रा आफैंबाट सुरु हुन्छ, त्यसपछि मात्र परिवार, समाज र राष्ट्रमा यसको प्रभाव पर्छ,” पण्डित लाम्गादेको भनाइ छ। उनले आगामी दिनमा सुदूरपश्चिमका विभिन्न स्थानमा भागवत महायज्ञ आयोजना गर्ने तयारी भइरहेको पनि बताए।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पूर्ण समर्थन प्राप्त यस गुरुकुलले धार्मिक तथा सामाजिक चेतनाको उन्नतिका लागि विभिन्न सकारात्मक अभियानहरू अघि बढाइरहेको छ। हरेक घरमा तुलसीको बोट रोप्ने, वैदिक उपासना विधि अपनाउने जस्ता कार्यहरू मार्फत धार्मिक समानता, सामाजिक एकता र आत्मगौरवको भावना फैलाउने प्रयास भइरहेको छ। तुलसीलाई वैदिक संस्कारमा पवित्रता, स्वास्थ्य र अध्यात्मिक उन्नतिको प्रतीकका रूपमा मानिन्छ।
दलित, विश्वकर्मा तथा सम्पूर्ण शिल्पी समुदायलाई समेट्ने यो समावेशी वैदिक अभियान, सामाजिक सद्भाव र सहअस्तित्वको उत्कृष्ट उदाहरण बनेको छ। पण्डित पन्तको नेतृत्वमा अघि बढिरहेको यो प्रयासले वैदिक ज्ञान सबैका लागि हो भन्ने सन्देशलाई व्यवहारमा उतार्दै, समानता र एकताको पुल निर्माण गरिरहेको छ।
📞 सम्पर्क : संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त पञ्चाङ्गकार, बैतडी — ९८६०२७८१००