डडेल्धुरा — डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार बिहीबार बिहान करिब ८ बजेतिर ठाँटा बजारबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब पाँच मिटर तल खसेको थियो। सोही दुर्घटनामा घटनास्थलमै चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
मृत्यु हुनेमा जिल्ला डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ का १८ वर्षीय सुरेश साउद, २१ वर्षीया सुरेक्षा पार्की, ५० वर्षीया तारा अवस्थी र ३५ वर्षीया कल्पना साउद रहेका छन्।
यस दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेमध्ये युतिसा बिष्ट (१८), प्रतिमा पार्की (१६), चन्द्र बहादुर साउद (२७) र अर्जुन बहादुर साउद (३५) रहेको प्रहरीले जनाएको छ। उनीहरूको उपचारका लागि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ।
दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।