कैलाली, अत्तरिया
कैलालीको चौकीडाँडा–फल्टुडे सडक निर्माण कार्य वर्षौंदेखि अलपत्र पारिएको भन्दै गोदावरी नगरपालिकाका चार वडाध्यक्षहरू भोलि अत्तरियामा सामूहिक चक्काजाम गर्न लागेका छन्। वडाध्यक्षहरूले भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म अत्तरिया चोकमा दुई घण्टा चक्काजाम गर्ने घोषणा गरेका हुन्।
२०७७ सालमै पूर्वाधार विकास कार्यालय धनगढीमार्फत कृष्ण मन्दिर–बाँन्द्रेखाल सडक निर्माणका लागि ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम अघि नबढेको स्थानीय र जनप्रतिनिधीको गुनासो छ। करिब ६ वर्षसम्म पनि काम अलपत्र रहँदा सेवाग्राहीहरूलाई निकै सास्ती भएको भन्दै वडाध्यक्षहरूले सामूहिक आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्।
गोदावरी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तेजराज अवस्थी, वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही, वडा नम्बर ११ का अध्यक्ष प्रेमसिंह बडैला र वडा नम्बर १२ का अध्यक्ष भीमबहादुर खड्का आन्दोलनमा नेतृत्व दिइरहेका छन्। उनीहरूले वडा कार्यालयको नियमित सेवा समेत ठप्प पारेर ठेकेदार र प्रदेश सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन्।
जनप्रतिनिधीहरूका अनुसार स्थानीयले पटक–पटक नगरपालिका, जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार कार्यालयमा दवाव दिए पनि ठेक्का पाएको कम्पनीले कुनै काम नगरेको र प्रदेश सरकारले समेत ठेकेदारलाई कारबाही नगरेको आरोप छ।
आन्दोलनरत वडाध्यक्षहरूले तत्काल ठेक्का पाएको निर्माण कम्पनीलाई पक्राउ गरी सडक निर्माण सुरु गराउन वा ठेक्का रद्द गरेर सक्षम कम्पनीमार्फत काम अघि बढाउन माग गरेका छन्। उनीहरूले सडक अलपत्र पारिएको मुद्दामा सरकार जिम्मेवार हुनुपर्ने बताउँदै भोलिको चक्काजामलाई सफल पार्न सर्वसाधारणसँग पनि ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।